त्रिशुली थ्री ए को क्षमता निर्णय फिर्ता

त्रिशुली थ्री ए को क्षमता निर्णय फिर्ता

 जेठ २९,
                   
           नेपाल विद्युत प्राधिकरणका कर्मचारीले त्रिशुली थ्री ए जलविद्युत आयोजनाको क्षमता विस्तार विरुद्ध आन्दोलन चर्काएपछि प्राधिकरण सञ्चालक समितिको भर्खरै सम्पन्न बैठकले निर्णय फिर्ता लिएको छ । सरकारको दबाबमा प्राधिकरण सञ्चालक समितिले ठेकेदारको प्रस्तावअनुसार ६० मेगावाट क्षमताको आयोजनालाई पुनसंरचना गरी ९० मेगावाट बनाउने निर्णय गरेको थियो र क्षमता वृद्धि गर्दा प्राधिकरणलाई बढी आर्थिक भार पर्ने तर्क गर्दै चार वटा कर्मचारी संगठन आन्दोलनमा उत्रेका थिए । कर्मचारीले मन्त्री क्वार्टरमा दैनिक चार घन्टा ब्ल्याक आउट सुरु गरेको दिन प्राधिकरणले निर्णय फिर्ता लिएको छ । केन्द्रीय कार्यालय रत्नपार्कमा कामकाज ठप्प पारेका कर्मचारीले देशभर नै प्राधिकरणका गाडी चल्नबाट रोक समेत लगाएका थिए ।

       आज विहान बसेकोसञ्चालक समिति बैठकमा सरकारले निर्णय फिर्ता गर्न नमानेपछि अपरान्ह ३ बजे पुनः बैठक बसेको थियो र  बैठकले क्षमता विस्तारको निर्णय फिर्ता लिएको प्राधिकरणका कार्यकारी निर्देशक रामेश्वर रायले आन्दोलनकारी कर्मचारी संगठनका अगुवालाई टेलिफोनमा जानकारी दिनु भएको थियो  । निर्णयको पूर्ण लिखत हेरेर मात्र आफूहरुले आन्दोलन फिर्ताको निर्णय लिने कर्मचारी नेता शंकर बाराकोटीले बताउनुभयो  ।

       प्राधिकरणले कर्मचारीहरुको गतिविधि अराजक बन्दै गएपछि  त्यसलाई रोक्न निर्णय फिर्ता लिनुपरेको जनाएको छ । प्राधिकरणले विज्ञप्ति जारी गरी ‘कार्यालयको सम्पूर्ण क्रियाकलाप ठप्प गर्ने, विभिन्न महत्वपूर्ण र संवेदनशील क्षेत्रमा समेत विद्युत लाइन काट्ने क्रियाकलापले सेवाग्राही सेवाबाट समेत वञ्चित हुँदै गएको उल्लेख गरिएको छ ।

        प्राधिकरणले क्षमता विस्तारको निर्णय अघिल्लै सरकारले गरेको समेत स्पष्ट पारेको छ । २०६९ साल मंसिरमै मन्त्रिपरिषद्ले क्षमता विस्तार गर्न सैद्धान्तिक सहमति दिएको थियो । वैज्ञानिक विश्लेषणबाट क्षमता विस्तारले धेरै लाभ हुने देखिएपछि यही जेठ १७ गते प्राधिकरणको सञ्चालक समितिले उक्त निर्णय गरेको उल्लेख गर्दै प्राधिकरणले आफ्नो निर्णयको बचाउ गरेको छ ।

0 comments

Write Down Your Responses

Join Our Facebook !!!