एमाओवादी केन्द्रीय समिति ३९९ सदस्यीय हुने
एमाओवादी केन्द्रीय समिति ३९९ सदस्यीय हुने
महिलाको प्रतिनिधित्व २३ प्रतिशत
२५ जेठ,
एकीकृत नेकपा माओवादीको पदाधिकारी बैठकले आइतबारबाट सुरु हुने केन्द्रीय समिति बैठकका एजेण्डा तय गरेको छ । शनिबार अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा बसेको पदाधिकारी, पूर्वस्थायी समिति सदस्य एवं संगठन विभागका सदस्यहरुको बैठकले केन्द्रीय समिति बैठकका लागि एजेण्डा तय गरेको हो ।एमाओवादी प्रवक्ता अग्नि सापकोटाका अनुसार केन्द्रीय समितिको बैठकले गत माघमा सम्पन्न हेटौंडा महाधिवेशनबाट पारित दस्तावेजलाई समेत विभिन्न क्षेत्रबाट आएका सुझाव समेटेर पारित गर्नेछ ।
केन्द्रीय समिति ३९९ सदस्यीय हुने, महिला कोटा २३ प्रतिशत
एमाओवादीले केन्द्रीय समिति विस्तार गरी १ सय ५१ पूर्णसहित ३ सय ९९ सदस्यीय बनाउने निर्णयसमेत गरेको छ, जसमा महिलाहरुको प्रतिनिधित्व हाललाई २३ प्रतिशत गर्ने निर्णय भएको सापकोटाले बताउनुभयो । केन्द्रीय समितिले रिक्त सचिव र कोषाध्यक्षका साथै केन्द्रीय समितिको एक तिहाई पोलिट्ब्युरो, पोलिट्ब्युरोको एक तिहाई स्थायी समितिसमेत चयन गर्नेछ ।प्रवक्ता सापकोटाका अनुसार बैठकमा अध्यक्ष प्रचण्डको नेतृत्वमा गठित उत्पादन, निर्माण र व्यवस्थापन विभागले आफ्नो प्रतिवेदन प्रस्तुत गर्नेछ । प्रस्ताव पारित भएपछि हेटौंडा महाधिवेशनको कार्यदिशाअनुसार उत्पादनको कार्यदिशा कार्यान्वयनमा लैजाने बाटो खुल्ने माओवादीले जनाएको छ ।
बैठकले उत्पादन बि्रगेड र कम्पनीहरू गठन गरी महाधिवेशनका योजना कार्यन्वयनमा लैजाने बताइएको छ । ‘हेटौंडा महाधिवेशनबाट पारित उत्पादनको कार्यदिशालाई प्रभावकारी कार्यान्वयनमा लैजाने गरी निर्णय हुन्छ’, सापकोटाले भन्नुभयो, ‘मुलुकको आर्थिकस्तर उठान गर्न र कार्यकर्ता व्यवस्थापनका लागि यो कार्यनीति सही हुने ठानेका छौँ ।’ उत्पादनको कार्यदिशाअनुसार कृषि, पर्यटन, जलविद्युत, खनिज तथा जडिबुटीको सही उपयोग गर्न सकिए केही वर्षमै मुलुकको अर्थतन्त्रले फड्को मार्ने विश्वास सापकोटाको छ ।
यस्तै बैठकले पार्टीको चुनावी रणनीति र पार्टी शुद्धीकरणका बारेमा पनि निर्णय लिनेछ । बैठकमा संगठन विभाग प्रमुख कृष्णबहादुर महरा नेतृत्वको आयोगले प्रतिवेदन पेस गर्नेछ । यस्तै नेताहरुको सम्पत्ति छानबिन र जनसेनाको शिविरमा भएको भनिएको अनियमितता छानबिनका लागि गठित दुई छुट्टाछुट्टै आयोगले पनि आ-आफ्ना प्रतिवेदन प्रस्तुत गर्नेछन् ।


0 comments
Write Down Your Responses