चुनाब चिन्ह पनि अनौठा-अनौठा चिह्न !

चुनाब चिन्ह पनि अनौठा-अनौठा चुनाव चिह्न !
जेष्ठ २३,
            दल धेरै भएपछि चुनाव चिह्न पनि धेरै हुने नै भयो । तर अब पुराना दलबाहेक कुन पार्टीको कस्तो चुनाव चिह्न होला अनुमान गर्न गाह्रो छ । किनकि निर्वाचन आयोगमा १ सय ४२ दल दर्ता भएका छन् र सबैले आ-आफ्नै रुचिका चिह्न प्रस्ताव गरेका छन् ।दर्ता भएका पार्टीले प्रस्ताव गरेकै चिह्न दिने/नदिने भन्ने निर्णय गर्न आयोगलाई गाह्रो परेको छ । ती दलले आयोगको 'चुनाव चिह्न बैंक' मा नभएका चिह्न प्रस्ताव गरेका छन् । एउटा दलले त पीपलको पातमा धनुबाण हानेको -प्रेमको प्रतीक) चिह्नसमेत मागेको छ । लिम्बुवान मुक्ति मोर्चाले 'गोलाकारभित्र ढाल, तरबार र धनुकाँड' प्रस्ताव गरेको छ ।

                         त्यसैगरी राष्ट्रिय थारू समाज एकता पार्टीले 'घोंगी' प्रस्ताव गरेको छ । ताम्सालिङ जनएकता पार्टीले चाहिँ चुनाव चिह्नका रूपमा बज्र प्रस्ताव गरेको छ । आयोगले दल दर्ता हुन विधान, घोषणापत्र, नियमावली, झन्डा, चुनाव चिह्नलगायत बुझाउन भनेको थियो । त्यसैअनुसार दलहरूले चुनाव चिह्न प्रस्ताव गरेका हुन् । 'अब बैंकमा भएका चिह्नहरूमा मुसो, बिरालो, भ्यागुतोले पनि नपुग्ने भयो,' आयोगका कर्मचारी भन्छन्, 'दलहरूले प्रस्ताव गरेको नै दिने हो भने त नयाँ बनाउनुपर्ने हुन्छ ।' यसपटक आयोगमा निकै समूह दल दर्ताका लागि ओइरिए । दर्ता हुन आएका ९ दलका लेटरप्याड, छाप, झन्डा, मतदाता हस्ताक्षरबिनै पुगेका थिए । आयोगको चुनाव चिह्न बैंकमा विभिन्न जनावर पशु, पन्छी, कृषिजन्य सामग्री, हातहतियार, धार्मिक तथा सांस्कृतिक प्रतीक, वनस्पति, प्रविधि, बस्त्र, खेलकुद, गरगहना र अन्य राजनीतिजन्य करिब एक सय चिह्न छन् । दलले भने चिह्न बैंकमा नभएका ढकिया, ओम, नरसिंगा बाजा, रोटी, गितार, चन्द्रमा, गणेशको मूर्ति, शिवको मूर्ति, गदा, कुमारी, पशुपतिको मूर्ति, कमलको फूलमाथि गणेश मूर्तिजस्ता चिह्न मागेका छन् ।
               फूलसहितको गमला, सूर्यमुखी फूल, लालीगुराँस, तारा-चन्द्रमा र सूर्य अंकित झन्डा, घेराभित्र चन्द्रमा, हँसियामा हथौडा र तारा, हँसिया हथौडा र मसाल, हँसिया हथौडामाथि तीन तारा, हँसिया र मुठ्ठीमाथि तीन तारा, पाँच ताराले घेरेको सूर्य, जन्जिर लगाएको दुई हात, गोलाकारभित्र धुपी सल्लाको रूख, जोडा सूर्य, जोडा चन्द्रमा, पाँचकुने तारो, चौरऔंलामाथि पाँच कुने ताराजस्ता चिह्न पनि माग भएको छ । 'आ-आफ्नै रुचिका चुनाव चिह्न माग्नु दलहरूको अधिकार हो तर माग्दैमा भनेअनुसारकै चिह्न पाइँदैन,' निर्वाचन आयुक्त दोलखबहादुर गुरुङ भन्छन्, 'मागेको चिह्न सबै हिसाब नियमसंगत र उचित मानिए मात्र आयोगले स्वीकृत गर्न सक्छ ।'
-kantipur 

0 comments

Write Down Your Responses

Join Our Facebook !!!