कसले गर्ने भयो उपराष्ट्रपतिलाई चीनमा स्वागत
कसले गर्ने भयो उपराष्ट्रपतिलाई चीनमा स्वागत
जेष्ठ २१
छिमेकि राष्ट्र चीन युनान प्रान्तस्थित कुनमिङ सहरमा हुने एक व्यापारिक प्रदर्शनीमा अतिथिका रूपमा जान लागेका उपराष्ट्रपति परमानन्द झालाई बेइजिङसमेत बोलाएर राजकीय अतिथिकै हैसियत दिने भएको छ । झाले बेइजिङमा चिनियाँ समकक्षी ली उनचाओसँग भेट्नेलगायत दुई दिन राजकीय अतिथिका रूपमा स्टेट हलमा बस्ने कार्यक्रम तय भइसकेको छ । राष्ट्रपति रामवरण यादवलाई चीनको राजकीय भ्रमण गराउने नेपालको कूटनीतिक पहल हालै मात्र असफल भएको थियो ।
झालाई दिइन लागेको यस सम्मानलाई राष्ट्रपतिस्तरको भ्रमण नभएपछिको कूटनीतिक क्षतिपूर्तिका रूपमा हेरिएको छर 'प्रदर्शनीमा गएका झालाई समकक्षी भेटाउनु र स्टेट हलमा बसाल्नु भनेकै अनौठो महत्त्व दिइनु हो,' परराष्ट्र मन्त्रालयका एक अधिकारी भन्छन्, 'अरू देश भएको भए यस्तो भ्रमणमा एयरपोर्टमा समेत मुस्किलले गतिला मान्छे लिन पठाउँथे तर झाले मंगलबार कुनमिङमा हुने फस्ट चाइना साउथ एसिया एक्स्पोजिसनमा अतिथिका रूपमा भाग लिनेछन् । उनीसँग नेपालका विभिन्न ८५ जना व्यापारी हरु पनी कुनमिङ जाँदैछन् । युनान प्रान्तको सरकार र केन्द्रीय वाणिज्य मन्त्रालय आयोजक रहेको प्रदर्शनीको उद्घाटन समारोहमा भाग लिएपछि झा बेइजिङ र सांघाई जाने कार्यक्रम तय भएको छ । सांघाईमा झाले के गर्ने भनेर चीन सरकारले अझै 'आइटिनरी' जानकारी दिएको छैन ।
चिनियाँ नेता तथा उच्च पदस्थ अधिकारीको नेपाल भ्रमण बढिरहेका बेला झालाई बेइजिङमा उच्च सम्मान मिल्न लागेको हो ।गएको साता मात्रै चीनकै उपशिक्षा मन्त्री हाओ पिङले झालाई भेटेर आफ्नो नेपाल भ्रमण पूरा गरेर फर्केका थिए । त्योभन्दा अघि चीनको स्टेट काउन्सिलका काउन्सिलर तथा पूर्वअर्थमन्त्री याङ जेइचीको गत मे १८-२० मा नेपाल भ्रमण कार्यक्रम तय भए पनि अन्तिम समयमा स्थगित भएको थियो । डेढ वर्षअघि तत्कालीन चिनियाँ प्रधानमन्त्री वेन जियाबाओले आधा दिन मात्रै भए पनि काठमाडौं आएर चीनको बदलिएको नेपाल नीति संकेत गराएर फर्केका थिए ।


0 comments
Write Down Your Responses