सहमति फेरि थ्रेसहोल्डमै सहमति अड्कियो
सहमति फेरि थ्रेसहोल्डमै सहमति अड्कियो
जेठ २६,
दुई दिनभित्र सहमति गर्न सरकारले गरेको आग्रहपछि छलफलमा बसेका दलहरुबीचको बैठक शनिबार पनि विना निष्कर्ष सकिएको छ ।थ्रेस होल्ड लगायतका विषयमा सबैको अडान यथावत भएपछि उच्चस्तरीय राजनीतिक समितिको बैठक विना निष्कर्ष नै सकिएको हो । बैठकपछि एमाले नेता रघुजी पन्तले सबैले आ–आफ्ना अडान दोहोर्याएपछि शनिबार पनि सहमति हुन नसकेको जानकारी दिनुभयो ।
‘थ्रेस होल्ड लगायतका विषयमा कुरो मिलेन, यो टेक्निकल विषय भएकाले यसले साना दलहरु आउन अबरोध गर्छ, समयमा चुनाब गर्न यो विषय नराखौं भनेर माओवादी र मधेशी मोर्चाका नेताले राख्नुभयो’ पन्तले भन्नुभयो ‘एमाले र कांग्रेसले संविधान बनाउन र संविधानसभालाई प्रभावकारी ढंगले अघि बढाउन सजिलो हुने भएकाले थ्रेस होल्ड राख्नुपर्छ भन्ने कुरा राखियो ।’
दलभित्र आन्तरिक छलफल गरेर फेरी आइतबार बेलुकी ५ बजे फेरी बैठक बस्ने पन्तले जानकारी दिनुभयो । दलहरुबीच थ्रेसहोल्ड, उम्मेदवारको सम्पत्ति विवरण तथा फौजदारी अभियोग लागेका व्यक्ति उम्मेदवार बन्न पाउने कि नपाउने लगायतका विषयमा विवाद छ ।दलहरुबीच विवाद समाधान नभए सरकारलाई चुनावसम्बन्धी कानुन बनाएर अगाडि बढ्न आग्रह गर्नुपर्ने माओवादी र मधेशी मोर्चाको प्रस्तावलाई पनि कांग्रेस एमालेले असहमति जनाएका छन् । आफूहरुले चुनावसम्बन्धी कानुनहरुका विषयमा उच्चस्तरीय राजनीतिक समितिमा सहमति हुनै पर्नेमा जोड दिएको एमाले नेता रघुजी पन्तले बताउनुभयो ।
‘सहमति हुन नसके चार दलले आआफ्नो अडान सार्वजनिक रुपमा राखौं तर कानुनलाई पूर्णता दिने अधिकार सरकारलाई दिऔं भनेर माओवादी र मधेशी मोर्चाका साथीहरुले राख्नुभयो’ पन्तले भन्नुभयो ‘हामीले चार दलको समर्थनमा सरकार बनेकाले निर्वाचनसंग सबन्धि कानुनलाई पूर्णता दिने दायित्वबाट भाग्नु हुँदैन भन्यौं ।’
शनिबार विहान मात्रै उच्चस्तरीय राजनीतिक समितिमा रहेका मुख्य दलका शीर्ष नेताहरुसित मन्त्री परिषद्का अध्यक्ष खिलराज रेग्मीले गरेको छलफलमा आइतबारसम्म निर्वाचन सम्बन्धी ऐनमा सहमति जुटाउन आग्रह गर्नुभएको थियो । तर दलहरुबीच अझै सहमतिको सम्भावना देखिएको छैन ।
0 comments
Write Down Your Responses