नेपालगन्जमा झाडापखालाको प्रकोप बढ्दै
नेपालगन्जमा झाडापखालाको प्रकोप बढ्दै
जेष्ठ २६,
बर्षायामको सुरुवातसँगै नेपालगन्जमा झाडापखालाको प्रकोप देखिएको छ । उपचारका लागि अस्पत्तालमा आउनेको बिरामी संख्या बढेको छ । तीन दिन यता भेरी अंचल अस्पताल र नेपालगन्ज नर्सिङ होममा दैनिक उपचारका लागि २५ देखि ३० जना सम्म बिरामी आउन थालेका छन् । भेरी अंचल अस्पतालले तीन दिनमा २९ जना बिरामीलाई अस्पतालमै भर्ना गरेर उपचार गरेको जनाएको छ । अस्पत्तालमा भर्ना भएका २९ जना मध्ये २० जनाको अहिले पनि उपचार भई रहेको बताएको छ ।
त्यसै नर्सिङ होममा पनि १० जना बिरामीको उपचार भई रहेको छ । अधिकाश बिरामी नेपालगन्ज नगरपालिका वडा नम्बर ५, ८, ९ र १० का छन् र तीन दिनमा ६९ जना झाडापखालका बिरामी उपचारका लागि आएको नेपालगन्ज नर्सिङ होमले जनाएको छ ।
बर्षा सुरु भएपछि पानी प्रदुषित भएका कारण झाडा पखालको प्रकोप देखिएको शिक्षण अस्पताल नेपालगन्जका डा खुर्सिद अहमद खानले बताएका छन् । गर्मी र बर्षातका कारण पानी प्रदुषित हुने र शुद्ध पानी पिउन र सरसफाइमा ध्यान दिनुपर्ने सल्लाह उनले दिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख जीवन मल्लले पानीका नमुना संकलन गरेर केन्द्रीय प्रयोगशालामा पठाइएको र त्यसको परीक्षण प्रतिबेदन आइनसकेको बताएका छन् । झाडापखालाका बिरामीलाई जीबनजलका साथै र झोलिलो पदार्थ खुवाउन र तत्काल उपचारका लागि नजिकको स्वास्थ्य केन्द्रमा लैजाने उनले सबैमा सल्लाह स्वास्थ्य कार्यालयले दिएको छ । तीन बर्ष पहिले पनि यसरि नै दुषित पानीका कारण नेपालगन्जमा झाडापखाला र हैजाको महामारी नै फैलिएको थियो ।
0 comments
Write Down Your Responses