नेपाल प्रहरी लाई कुट्दै भारतीयले हतियार लुटे

नेपाल प्रहरी लाई कुट्दै भारतीयले हतियार लुटे
जेठ २३,
            नेपालभित्रको खोलाबाट बालुवा लिन रोक लगाएको भन्दै भारतीय नागरिकहरुले नेपाल प्रहरीलाई कुटपिट गर्नुका साथै प्रहरीको एक थान हतियारसमेत लुटेर लगेका छन् ।पर्साको महादेवपट्टी गाविसको बलुवा गाउँमा पर्ने ओरिया खोलाबाट हिजो राति बालुवा निकाली रहेका भारतीय नागरिकलाई रोक्न गएका इलाका प्रहरी सेढवाका प्रहरीमाथि हमला गरी एक थान थ्री-नट-थ्री राइफल लुट्नुका साथै प्रहरी जवान सुनिल रिमाललाई कुटपिट गरी घाइते बनाएका थिए । भारतीय गाउँ भङ्गहाका बासिन्दाहरूले बालुवा निकाल्न लागेको सूचना पाएपछि इलाका प्रहरी चौकी सेढवाका प्रहरी नायब निरीक्षक गोपाल थामीको नेतृत्वमा घटनास्थल पुगेको प्रहरी टोलीलाई घेरा हाली कुटपिट गर्दा प्रहरी जवान रिमालको हात भाँच्चिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिनुभयो ।
            बालुवा निकासी रोक्न पुगेका प्रहरीलाई करिब २ सयको सङ्ख्यामा रहेका भङ्गहावासीले घेरा हाली कुटपिट गरेका थिए । उनीहरुले प्रहरी जवान रिमालले बोकेको राइफलसमेत लुटेको खतिवडाले बताउनुभयो । नेपाली सीमाक्षेत्रमा रहेको ओरिया खोलाबाट विगतदेखिनै लुकिछिपी भङ्गहावासीले बालुवा गिट्टी निकाल्दै आएका थिए ।
           यसैबीच, भारतीय प्रहरीले लुटिएको हतियार नेपाल प्रहरीलाई फिर्ता गरेको छ । भारत र नेपालको सीमाक्षेत्रका सुरक्षा अधिकारीको बैठकले सीमा क्षेत्रको दशगजामा दुवै पक्षबाट कुनै गतिविधि नगर्ने सहमति भएको नायब उपरीक्षक खतिवडाले बताउनुभयो । 
-रासस

,

0 comments

Write Down Your Responses

Join Our Facebook !!!