विरोधका बीच पनि पूर्वराजा ज्ञानेन्द्र सप्तरीमा

विरोधका बीच पनि  पूर्वराजा ज्ञानेन्द्र सप्तरीमा
जेठ २७,
              विद्यार्थी संगठनहरुको विरोधका बीच पनि पूर्वराजा ज्ञानेन्द्र शाह सप्तरी आउनु भएको छ । बाराको सिमराबाट शाह सडक मार्ग हुँदै मध्याहृन राजविराज आउनु भएको हो । विद्यार्थीहरुको प्रदर्शनका कारण ज्ञानेन्द्र शम्भुनाथस्थित शम्भुनाथ मन्दिरमा पूजाआजा नगरी सिधै राजविराजस्थित न्यू ग्रिन स्टार होटलमा प्रवेश गर्नुभयो । मन्दिर परिसरमा सयौँ समर्थक बिहानदेखि पूर्वराजाको प्रतिक्षामा थिए । नगरको प्रवेशद्वारदेखि अदालत रोड, सिरहा रोड, जनआन्दोलन चौक, गजेन्द्र चौक हुँदै राजदेवी मन्दिरसम्म पूर्वराजालाई पैदलयात्रा गराइने बताइए पनि विद्यार्थी संगठनहरूको प्रदर्शन गरेपछि गजेन्द्र चौकदेखि होटलसम्म मात्र पदैलयात्रा गराइएको थियो ।

प्रदर्शनका क्रममा विन्देश्वरी बहुमुखी क्याम्पसका स्ववियु सभापति रामचन्द्र यादव, सचिव वि.पी. यादव र स्ववियु सदस्य सन्तोष  यादव लगायतका विद्यार्थी नेताहरुलाई प्रहरीले पक्राउ गरेको बताएको छ ।

तर, उहाँले दिउँसो भारदहको कंकालिनी मन्दिर पुगेर पुजापाठ तथा दर्शन गर्नु भएको छ र उहाँले मन्दिरलाई २ लाख रुपैयाँ सहयोग गर्नु भएको बताइएको छ ।

प्रमुख दलसम्वद्ध विद्यार्थीहरुले पूर्व राजा ज्ञानेन्द्रको भ्रमणको विरोध गरपेछि सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको थियो  । विद्यार्थी संगठनहरुले आइतबार राति ज्ञानेन्द्रको स्वागतका लागि बनाइएको स्वागतद्धारहरु समेत भत्काएका थिए भने सोमबार बिहान राजविराजमा यातायात बन्द गराएका थिए ।

          पूर्वराजा ज्ञानेन्द्रको सप्तरी भ्रमणलाई मध्यनजर गरी विशिष्ट व्यक्तिसरह सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक सञ्जयसिंह बस्नेतले बताउनु भएको छ । भ्रमण सफल बनाउन विनोद पाण्डेको संयोजकत्वमा एक हजार आठ सदस्यीय मूल स्वागत समारोह समिति गठन गरिएको छ । तराईको दुई हप्ते भ्रमणका क्रममा पूर्वराजा ज्ञानेन्द्रले मकवानपुर, बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र सिराहा जिल्लामा रहेका शक्तिपीठहरूमा समेत पूजापाठ गर्नुहुने बताइएको छ ।

0 comments

Write Down Your Responses

Join Our Facebook !!!